समाचार

नेपाली कामदार जापान पठाउने विषयमा आज छलफल हुदै

काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो ।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त कार्यसमितिका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए ।

संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् ।

नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् । ‘भाषा परीक्षा पास गरेकाहरुलाई जतिसक्दो छिटो जापान पठाउने विषयमा आजको बैठकमा छलफल हुन्छ,’ सदस्य सचिव भुसालले भने ।

जापानमा कामदारहरुको माग उच्च छ । ३ लाख ४० हजार कामदारको माग रहेको र सोही अनुसार विश्वका एक दर्जन बढी देशहरुबाट कामदारहरु लैजाने भनेर जापानी अधिकारीहरुले भन्ने गरेको भुसाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button