समाचार

कर्रा खोलामा आएको बाढिले खाली ट्रक बगायो


मनहरी । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान एउटा खाली ट्रक बगाएको छ।
प्रहरीका अनुसार बिहान करिब ७:४५ बजे ढुंगा अनलोड गरी फर्कंदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक खोलामा आएको बाढीले बगाएको हो। उक्त स्थानमा ह्युमपाइप राखेर निर्माण गरिएको कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव एक्कासि बढेपछि ट्रक बगाएको जनाइएको छ।
ट्रक बगेको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रक चालक चितवन जिल्लाको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दिपक थिङ भने पौडिएर आफैं सुरक्षित बाहिर निस्कन सफल भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।
घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने हाल खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button