
मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह ले बागमती प्रदेशका करिब ४ हजार सामुदायिक वनमध्ये दोस्रो उत्कृष्ट सामुदायिक वनको सम्मान प्राप्त गर्न सफल भएको छ।
बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयद्वारा प्रदान गरिने उत्कृष्ट सामुदायिक वन पुरस्कार अन्तर्गत सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह प्रदेशभरका हजारौँ सामुदायिक वनलाई पछि पार्दै दोस्रो स्थान हासिल गर्न सफल भएको हो।
यस उपलब्धि प्रति समूहले सम्पूर्ण उपभोक्ता सदस्य, कार्यसमिति, सल्लाहकार, कर्मचारी, स्थानीय समुदाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सरोकारवालाप्रति हार्दिक आभार तथा बधाई व्यक्त गरेको छ।
वन समुहका सचिव रमेश कार्किका अनुसार यो सम्मान संस्थाको मात्र नभई वन संरक्षण, जैविक विविधता संरक्षण, सुशासन, पारदर्शिता, दिगो वन व्यवस्थापन तथा गरिबी न्यूनीकरणका क्षेत्रमा समुदायले गरेको निरन्तर योगदानको साझा उपलब्धि रहेको बताए ।
समूहले यस सफलताले आगामी दिनमा अझ बढी जिम्मेवारीबोध गराएको उल्लेख गर्दै वन, वन्यजन्तु तथा वातावरण संरक्षणका साथै समुदायको समृद्धिका लागि अझ प्रभावकारी रूपमा कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय स्तरमा वन संरक्षणसँगै सामाजिक, आर्थिक तथा वातावरणीय क्षेत्रमा निरन्तर उत्कृष्ट कार्य गर्दै आएको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गरेको यो सम्मानलाई मनहरी गाउँपालिका तथा समग्र मकवानपुरकै गौरवका रूपमा समेत हेरिएको छ।






