
कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले २२ औँ महिला सामूदायिक स्वास्थ्य स्वंयमसेविका दिवस मनाउँदै विस २०५१ देखी सेवा प्रदान गर्दै आइरहेकी मनसानी थोकरलाई दीर्घ सेवा सम्मान गर्दै विदाई गरिएको छ ।
३१ वर्षदेखी साविक कालिकाटार गाविस लिच्चे कार्यक्षेत्रमा आफ्नो सेवा प्रवाह गर्दै आइरहेकी थिईन् । उमेर हदका कारण उनलाई दिवसको अवसरमा १० हजार नगद सहित सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा दिवस मनाइएको थियो । सोही अवसरमा सेवा गरे अनुरुप कैलाश ३ का सरस्वती सुनार प्रथम भएकी छिन् भने कैलाश ८ का सुकुमाया मोक्तान द्धितीय र वडा ५ का सुनिता माया थिङ तृतीय भएकी छिन् ।
पुरस्कृत हुनेलाई विभिन्न सामाग्रीका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।स्वस्थ समूदायको निर्माण, महिला समूदायिक स्वास्थ्य स्वंयमसेविकाको योगदान भन्ने नाराका मनाइएको दिवस कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले स्वास्थ्य क्षेत्रमा स्वंयमसेविकाको अग्रणी भूमिका रहेको बताए ।
यहाँको भूमिका अतुलनीय छ, स्थापना भएदेखी हाल सम्म सेवा गरिरहनु भएको छ राज्यको लक्ष्य अनुरुप काम गर्न आग्रह गर्दछु, उनले भने । कैलाशमा होमडेलीभरीलाई शन्यता तर्फ लैजानको लागि यहाँहरुले महत्वपूर्ण भूमिका खेल्नुभएको प्रति आभारी समेत छु ।
राज्यले तोकिएको सुविधामा गाउँपालिकाले थप गतवर्ष सम्म एक हजार र चालु आव देखी पाँच सय थप गरेर भत्तामा वृद्धि गरिएको उनले बताए । स्वास्थ्य र शिक्षामा विभिन्न काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सरकार र साझेदार संस्थासँगको साझेदारीमा पनि काम गरिने प्रतिवद्धता जनाए ।
निस्वार्थ रुपमा जुनसुकै अवस्थामा पनि सेवा दिदैं आएका स्वंयमसेविकाको भूमिका उल्लेख्य रहेको वडा नम्बर ७ का वडाध्यक्ष उदासकुमार भुलुनले बताए । उहाँहरुको भूमिकामा हामी सन्तुष्ट रहेको बताउँदै यहाँको योगदानप्रति धन्यवादले मात्रै पुग्दैन त्यसमा हामी ऋणी छौँ, उनले भने ।
कार्यक्रममा स्वंयमसेविका सरिता मुक्तानले काम धेरै सम्मान कम हुने पेशा अंगालेको बताईन् । पहिले गोष्ठी तालिमहरु प्रशस्तै आउँथ्यो अहिले हराउँदै गएको छ ।
समय अनुसार तालिमको आवश्यकता रहेको उनले बताईन् । हामी भनेको गाउँघर समुदायको पहिलो डाक्टर हौँ, सोही अनुरुप हामीमा पनि सीप र ज्ञान अपगे्रड रहनुपर्ने भनिन् ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवकोटी, नेपाल ग्रामीण पुनर्निमाण संस्थाका कार्यक्रम संयोजक लिलबहादुर कार्की, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका सोनी मल्लिक, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, बाल विकास कार्यक्रम नेपालका निराजन प्रजा, गाउँपालिकाका वडाका स्वास्थ्य ईन्चार्जहरुको आतिथ्यता रहेको थियो । १० वटा वडा रहेको गाउँपालिकामा हाल ४२ जना स्वास्थ्य स्वंयमसेविकाहरु कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताए ।






