काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । भेटमा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगको लागि मन्त्री लुलाई धन्यवाद दिएका छन् । यसअघि अमेरिकी मन्त्री लु र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटमा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल भएको थियो ।
मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेट्ने दूतावासले जनाएको छ । दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।






