
राक्सिराङ्ग । राक्सिराङ्ग महिला श्रम तथा कृषि उपभोक्ता सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । राक्सिराङ्ग ५ चैनपुरमा एक कार्यक्रमको आयोजना गरि संस्थाको बार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौला, विभिन्न वडाका अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष मल्लले समुदायको जीवनस्तर सुधार गर्न सहकारीको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।
सहकारीको बिकास र ब्यवस्थापनका लागि गाउँपालिकाले बर्षेनी बजेट छुट्याएरै काम गरिरहेको बताउँदै उहाँले समुदायले सहकारीको फाइदा तथा उपलब्धि बुझ्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्ण डुम्रेले सहकारी सञ्चालन तथा ब्यवस्थापनबारे प्रकाश पार्नुभयो ।
उहाँले गाउँपालिका तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई सदुपयोग गरि सहकारी र सदस्यहरुलाई मजबुत बनाउनु सकिने बताउनुभयो । कार्यक्रममा वडाअध्यक्ष बुद्धराम मुक्तान, समाजसेवी ज्ञानेन्द्र तामाङ्ग, बच्चुमाया नेगी, इलिना प्रजा, मानसिह घलान लगायतले सहकारीको फाइदा र प्रभावकारिताबारे चर्चा गर्नुभयो ।
संस्थाका अध्यक्ष कोपिला गोलेको अध्यक्षतामा भएको सभामा कोषाध्यक्ष रन्जिता ब्लोनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अध्यक्ष गोलेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनहरु सर्वसम्मत पारित भएका छन ।
संस्थाका सचिव बिपिमाया मुक्तानले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सर्मिला स्याङ्गतानले स्वागत मन्तव्य राख्नुभएको थियो ।






