समाचार

मनहरी खेलकुद महोत्सवमा ज्योति मगरको बोल्ड प्रस्तुति, भोलि राजु परियार आउने


मनहरी । मनहरी गाउँपालिका वडा नं ८ बेलुवास्थित खेल मैदानमा जारी मनहरी खेलकुद तथा ब्यापार महोत्सव २०८१ मा सोमबार चर्चित गायिका ज्योति मगरले बोल्ड प्रस्तुति दिएकी छन् ।

साँझ अबेर गरी स्टेजमा उक्लेकी ज्योतिले आप्ना चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका हुन् । गीतसँगै द्विअर्थी कुराहरु गर्दै मगरले दर्शकलाई आफ्नो पकडमा लिएकी थिइन् ।

मगरले ‘जिमवाल बाउकी छोरी’, ‘उही मुलाका सिन्की, उही मुलाका चाना’, ‘चोरी खान पल्केको यो ढाडे बिरालो’, ‘जाली रुमाल सोल्टीलाई बैना भो’ लगायत चर्चित गीतहरु गाउँदा दर्शक दिर्घामा धुलो उड्नेगरी दर्शकहरु नाचिरहेको देखिन्थे ।
मगरसँगै सोमबार दिउँसो गायकहरु रवि रिमाल, ढाकाराम पौडेल, अजित लोप्चन र अम्रिता घर्तीमगरले गीत प्रस्तुत गर्नु भएको थियो ।
आयोजक मनहरी खेलकुद विकास समितिका अनुसार फागुन २७ गते मंगलबार चर्चित लोकगायक राजु परियार आउने तयारी भएको आयोजक मनहरी खेलकुद विकास समितिका सदस्य कविन मगरले जानकारी दिनुभयो । परियारसँगै अन्य गायक गायिकाहरु पनि मनोरन्जनात्मक कार्यक्रममा सहभागी हुनेछन् भने आस्था कला केन्द्रले नृत्यका सबै प्रस्तुतिहरु प्रदर्शन गरिरहेको छ ।
फागुन २१ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो अबधिमा दुर्गेश थापा, विश्व दोङ, उर्गेन दोङ, एलिना चौहान, प्रियंका कार्की लगायतका कलाकारहरु महोत्सवमा आउने आयोजकले जनाएको छ ।
खेलकुद महोत्सवको अबसरमा वडास्तरीय भलिवल प्रतियोगिता पनि मनहरी ८ स्थित महोत्सव स्थलबाहिर सोमबार सुरु गरिएको छ ।

भलिवल प्रतियोगिताको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले खेलको माध्यमबाट मनहरीलाई चिनाउने काममा गाउँपालिकाले योगदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ३ नं वडाध्यक्ष अनन्त प्रकाश अर्यालप, ४ नं वडाध्यक्ष प्रकाश थापा, नेपाली काँग्रेस सभापति प्रकाश बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामाको सभाध्यक्षतामा भएको हो ।

वडास्तरीय भलिवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा वडा नं ९ ले वडा नं ६ को टिमलाई जितेको छ । दोस्रो खेल वडा नं ७ र ४ बीच भएकामा ४ नं वडाको टिम बिजयी भएको छ ।

तेस्रो खेल वडा नं ३ र वडा नं ९ बीच भएकामा वडा नं ३ ले जीत हासिल गरेको छ ।

चौथो खेल वडा नं ७ र वडा नं ५ बीच भएकामा वडा नं ५ को टिमले बिजय यात्रा तय गरेसँगै वडा नं ७ प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार वडा नं ६ र वडा नं ३ तथा वडा नं ३ र ४ नं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button