
मनहरी । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदाय बजारिकण सहित हेटौंडामा रहेका महिला उद्यमीहरुलाई ग्रिन फाउन्डेशन नेपालले (जिएफएन) ब्यबसायिक योजना बनाउने तालिम प्रदान गरेको छ ।
ग्रिन फाउन्डेशन नेपालले वनमा आधारित उद्यमहरुको दिगो विकास र ब्यबस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उदेश्य सहित ब्यबसायिक योजनाको तालिम दिएको हो ।
३ दिने तालिमको समापनमा बोल्दै बागमती प्रदेशसभा सदस्य एबम सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निबर्तमान अध्यक्ष भारती पाठकले वनबाट समृद्धी सम्भब भएको भन्दै वनमा आधारित उद्यम विकासको लागि यस्ता तालिमले सहयोग गर्ने बताउनुभयो ।
उहाँले महिलाहरुलाई प्राकृतिक स्रोतको अधिकारमा जोड्दै उद्यमी बनाउनको लागि वनमा आधारित उद्यमको भुमिका महत्वपुर्ण रहेको जनाउनुभयो ।
सांसद पाठकले महिलाहरुलाई उद्यमसंगै उत्कृष्ट ब्यबसाय गर्नको लागि आफ्नो साथ र सहयोग रहेको समेत स्पष्ट पार्नुभयो ।
वनमा आधारित उद्यम र खेर गएको वडिबुटीहरुलाई उचित ब्यबस्थापन गर्नको लागि नीतिगत सुधारको लागि समेत पहल गर्ने जनाउनुभयो ।
संस्थाले देशभरबाट सामुदायिक वनमा आधारित उद्यमीलाई स्थापित गराउने अभियान अन्तर्गत मकवानपुरमा रहेका महिला उद्यमीहरुलाई तालिम दिएको संस्थाका अध्यक्ष घनश्याम पांडेले जानकारी दिनुभयो ।
उहाँको अनुसार समुदायमा रहेका विपन्न, लोपोन्मुख र महिलाहरुलाई वन ब्यबस्थापन गर्दै उद्यमी बनाउनको लागि संस्थाले यो अभियान चलाएको हो ।
अध्यक्ष पांडेले अबको केही बर्षमा नै प्रतिफल देखिने गरी काम गरिएको समेत प्रष्ट्याउनुभयो ।
मकवानपुरमा रहेको लोपोन्मुख वनकरियाको जिवनयाजन वनमा आधारित भएको र हाल उहाँहरुले ब्यबस्थापन र प्रयोग गर्दै आउनुभएको मसिने—शान्ती सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछी बैकल्पिक रुपमा आयआर्जनको लागि सुरु गरिएको वनकरिया—चेपाङ महिला साबुन उद्योगलाई उचाईमा पु¥याउदा त्यहाँको समुदायको अबस्थामा देखिने सुधार आउने उहाँको भनाई छ ।






