
हेटौडा । अवैध कारोबारमा संलग्न केही व्यक्तिहरूले आफ्नो अनलाइनको नाम दुरुपयोग गरेकोमा आफूहरुको गम्भीर अध्यानाकर्षण भएको निगरानी अनलाइनले जनाएको छ । निगरानी अनलाइनका अध्यक्ष आदर्शसिंह थोकरले आज एक विज्ञप्ति जारी अवैध कारोबार गर्ने, कालोधन्दामा संलग्न केही व्यक्तिले आफूहरुको अनलाइनको नाममा नक्कली परिचयपत्र बनाई र गाडीमा समेत निगरानी अनलाइन प्रेस लेखेर दुरुपयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
केही दिनअघि पर्साको इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को प्रेस लेखिएको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारमाबाट लागूऔषध बरामद गर्नुका साथै चालक गोपाल स्याङ्तानलाई पक्राउ गरेको थियो । विज्ञप्तिमा यस मिडियासँग चारचक्के कुनै पनि गाडी नरहेको र गोपाल स्याङ्गतान निगरानी अनलाइनमा कार्यरत पनि नरहेको जनाइएको छ । निगरानी अनलाइनमा आबद्ध कर्मचारीहरूसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्रै रहेकोले अन्य प्रकारको परिचयपत्र आफूहरूले प्रदान नगरेको पनि जनाइएको छ ।
आफूहरु स्वच्छ पत्रकारितामा विश्वास गर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, “हामी समाज परिवर्तनको लागि पत्रकारिता गर्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्छौँ । पत्रकारिताका माध्यमबाट समाजका आपराधिक प्रवृत्तिको अन्त्य हुनुपर्छ । भ्रस्टाचार, अवैध धन्दा, कालोबजारीको अन्त्य नै हाम्रो अनलाइनको मुख्य धेय हो । हामी सभ्य समाज निर्माणका लागि अनलाइनबाट कलम चलाइरहेका छौँ । हाम्रो अनलाइनका नाममा कसैले असभ्य काम, अवैध क्रियाकलाप गर्छ भने त्यो हामीलाई मान्य हुने छैन । त्यस्ता क्रियाकलाप हाम्रा दृष्टिमा अक्षम्य अपराध हो । यस्ता क्रियाकलापमा संलग्न जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ । ”
आफूहरुको स्वच्छ पत्रकारितामा आँच पु¥याउन खोज्ने, बदनाम गराउन खोज्ने व्यक्तिहरुबाट समाज सधैँ दूषित भइरहने भन्दै विज्ञप्तिमा यस अनलाइनका नाममा नक्कली कार्ड बनाई अवैध क्रियाकलापमा संलग्न गोपाल स्याङ्तानलाई नेपाल सरकारको कानुनअनुसार कडाभन्दा कडा सजायका लागि माग गरिएको छ ।






