खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगे


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन्। मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन्।

विमानस्थलमा बाहिरिँदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया दिएका छन्।

मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताए। आफूले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै मुख्य प्रशिक्षक प्रभाकरले अन्तर्राष्ट्रियस्तरको टीम बनाउन सक्दो मेहनत गर्ने बताए।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ। भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ।

पुबुदु दसानायकेको प्रशिक्षणमा पछिल्ला दुई भ्रमणमा नेपाली टिमले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो। विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन्।

नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न प्रभाकरलाई सहज भने हुनेछैन। किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आउँदैछन्। यस्तै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व पहिलो पटक सम्हाल्न लाग्दैछन्।

पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन। चार खेलमध्ये एक खेलमा जित नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button