मनोरञ्जन

राजेश हमालको कमब्याक फिल्म ‘सत्यम’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : राजेश हमालको कमब्याक फिल्म ‘सत्यम’को शीर्ष गीत सार्वजनिक भएको छ। रेशम सापकोटाको शब्द, कुटुम्ब ब्याण्डको संगीत तथा राजु महर्जनको स्वर रहेको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

फिल्मको लिरिकल भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। गीतको बीचमा राजेशको आवाजमा एउटा डाइलग पनि राखिएको छ। फिल्ममा केन्द्रीय पात्र ‘सत्यम’को भूमिकामा देखिन लागेका राजेशको यो ६ वर्षपछिको पुनरागमन हो।

रेशम सापकोटाको लेखन तथा निर्माण रहेको फिल्मलाई शंकर कार्कीले निर्देशन गर्दै छन्। फिल्मको शीर्ष गीत सार्वजनिक गरिएपछि फिल्म छायांकनमा भने जान सकेको छैन। प्राविधिक कारणले गर्दा फिल्मको छायांकन समयमा हुन नसकेको निर्माण टोलीले जनाएको छ।

एक वर्षअघि नै घोषणा गरिएको फिल्म गत मंसिरदेखि छायांकनमा जाने तयारीमा थियो। फिल्ममा मुख्य कलाकारको रूपमा अनुबन्धित अभिनेता पल शाह थुनामा परेका कारण पनि फिल्मको छायांकनमा थप ढिलाइ भएको हो। पल जेलबाट छिटै नछुटेमा अर्को अभिनेतालाई लिएर छायांकन अघि बढाउने तयारीमा निर्माण टोली रहेको छ।

फिल्ममा राजेश र पलसँगै अनुपविक्रम शाही र उपासनासिंह ठकुरी पनि अनुबन्धित भइसकेका छन्। फिल्मको प्रि प्रोडक्सनको सबै काम सकिइसकेको छ। एक्सन जनरामा बन्ने फिल्म मनाङ, मुस्ताङ, पोखरा, काठमाडौं लगायतका ठाउँमा छायांकन हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button