मनहरी । २८५९ औं ह्योयी ल्हो (खरायो वर्ग ) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघले ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिहिबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कार्यक्रम बारे जानकारी दिएको छ ।
संघको भवन निर्माण सहयोगार्थ र तामाङ सस्कृतीको जर्गेना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम माघ ८ गते हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव रवीन्द्र थिङले भवन निर्माण सहयोगार्थ चिठ्ठा कार्यक्रम पनि गर्ने जनाएको छ ।
कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुको गायन, नृत्य र अभिनयको प्रस्तुति, तामाङ झाँक्री प्रदर्शन, तामाङ भेष(भूषा र खानाका स्टलहरु रहने बताए ।
यस्तै तामाङ जातिको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवद्र्धन, नवप्रतिभा मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहन र ल्होछार विषयक जागरण ल्याउन कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । कार्यक्रममा करिव ४ लाख रुपैयाँ खर्च हुने संघका अध्यक्ष धिरेन लामाले बताए ।