
मकवानपुर । बागमती गाउँपालिका सरकारले सुकुम्बासी, दलित र भूमिहिन परिवारहरुलाई १०४ वटा जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।
गाउँपालिकाको वडा नं. १ मा ४३, वडा नं. २ मा ३० र वडा नं. ६ मा ३१ गरी कुल १०४ वटा लालपुर्जा वितरण गरिएको हो । वडा नं. ६ मा कार्तिक २६ गते तथा वडा नं. १ र २ मा कार्तिक २७ गते वितरण कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
हाल वितरणका लागि तयार पारिएका १०४ मध्ये केही लालपुर्जा प्राविधिक कारणले रोकिएका छन् भने बाँकी लालपुर्जा सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
लालपुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहेका थिए भने प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी पनि कार्यक्रम स्थलमै उपस्थित हुनु भएको थियो ।
अध्यक्ष घलानले भूमि अधिकार हरेक नागरिकको आधारभूत हक भएको बताउँदै भूमिहिन, दलित तथा सुकुम्बासी परिवारलाई सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्न गाउँपालिकाले यो कदम चालेको बताउनुभयो । उहाँले गाउँपालिकाले विद्युत्, सडक, खेलकुद, स्वास्थ्य र शिक्षा जस्ता विकासका क्षेत्रहरूमा पनि उत्तिकै प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।






