कैलाश । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु हामी सबैको दायित्व रहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।
विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आव २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षालाई सम्बोधन गर्दै सरकारको लक्ष्य पुरा गर्न कर्मचारी र जनप्रतिनिधिहरुको दायित्व रहेको बताएका हुन् ।
उनले स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडातहका प्रमुखहरुलाई आग्रह गरेका छन् । गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेको अवस्थामा वडा तहकै स्वास्थ्य चौकीको कामको तथ्याङ्क चुस्त दुरुस्त राख्न निर्देशन गरेका छन् ।
तथ्याङ्क तलमाथी भएको खण्डमा समस्या रहने र त्यसले ठुलो प्रभाव पर्न सक्ने बताए ।
गाउँपालिकामा स्वास्थ्यको कामले वित्तीय समानीकरण अनुदान वृद्धि भएको बताउँदै अध्यक्ष मुक्तानले गतवर्षझैँ चालु आवमा पनि सोही अनुरुप सेवा प्रवाह गर्न सबैलाई आग्रह गरेका छन् ।
हाम्रो लक्ष्य धेरै छन्, जसमा सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शुन्य बनाउने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक लगायत विविध कार्यक्रम छन् त्यसलाई मध्येनजर गर्दै कार्य सम्पादन गरिनुपर्छ, उनले भने ।
गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न गैर सरकारी संस्थाहरुसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । त्यो सँगै खानेपानी, उद्यम विकास, सीपमूलक तालिम पनि गर्दै आइरहेको उनले बताए ।
१० शैयाको अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अध्यक्ष मुक्तानले बताए ।
समीक्षा कार्यक्रममा १० वटै वडाले कार्यसम्पादन गरेको कार्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जन स्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो ।
दुई दिन सञ्चालित समीक्षा कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा गाउँपालिकाकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।