
हेटौंडा । सीमान्तकृत तथा अपांगता भएका महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक्सेस प्यानेटले एक दिने भाषणकला सम्बन्धी तालीम सम्पन्न गरेको छ ।
शनिबार हेटौंडा रिसोर्टमा आयोजित उक्त तालिममा मकवानपुर, चितवन, काठमाडौं र धादिङका करिब ३० जना महिलाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक मोटिभेशनल स्पिकर तथा पत्रकार रुपक कालिराजले भाषणकलाको महत्व, यसको आवश्यकता र प्रभावकारी नेतृत्त्व विकासका उपायबारे प्रशिक्षण दिनुभयो ।
उहाँले भाषणकला नेतृत्वको मूल आधार भएकाले यसले व्यक्तिको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र सामाजिक प्रभावकारितामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यसैगरी, एक्सेस प्यानेटकी कार्यक्रम अधिकृत रक्षा बडालले सहभागी महिलाको क्षमता वृद्धिसँगै भाषणकलाको ज्ञान् प्रदान गर्ने र आगामी दिनमा सहभागीलाई सामुदायिक नेतृत्वमा सशक्त बनाउन कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार समूहगत अभ्यासमार्फत महिलाको हकअधिकार, समुदायस्तरीय पैरवी र सरोकारवाला निकायसँग बहस कार्यक्रमलाई प्राथमिकतामा राखी अघि बढाइने योजना रहेको छ ।
सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी र प्रभावकारी अनुभव गरेको बताएका थिए । यद्यपि, उनीहरूले तालिमको समय अवधि छोटो भएको भन्दै यस्ता कार्यक्रम निरन्तर रुपमा गर्न आग्रह समेत गरेका छन् ।
 
				





