समाचार

शारीरिक अपाङ्गता भएका कैलाशका २ जना महिलाद्वारा व्युटिपार्लर संचालन


कैलाश ।मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सुन्दरढोका व्युटिपार्लर सञ्चालनमा आएको छ ।

शारीरिक अपाङ्गता भएका कैलाश ६ की अञ्जु परियार र कैलाश ५ की सरितामाया थिङले संयुक्र रुपमा पार्लर सुरु गरेका हुन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको सुन्दरढोका साथीसेवा संस्थाको सहयोगमा तालिम प्रदान पश्चात संस्थाकै लगानीमा पार्लर सञ्चालनमा आएको हो ।

पार्लर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले शहरजस्तो ग्रामीणभेगमा व्युटिपार्लर जाने श्रृंगार गर्ने भन्ने हुन्न तर सामान्य मेकअप भने गर्नुपर्छ भन्ने सोचको वृद्धि भएकाले आफ्नो सीपलाई निर्खार्दै सेवा प्रदान गर्न आग्रह गरे ।

शारिरीक अपाङ्गता भएर पनि व्युटिपार्लरको कोर्स पूरा गरेर आफ्नो सीप प्रदर्शन गर्ने भनी सुरु गरिएको व्यवसायलाई सुन्दरढोकाले सहयोग गरेको छ आगामी दिनमा गाउँपालिकाले पनि साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।

व्यवसायलाई दर्ता गर्नुस्, आफ्नो सीपलाई प्रयोग गरी आर्थिक पक्ष पनि बलियो बनाउनु अध्यक्ष मुक्तानले आग्रह गरे । बसाई अन्य वडामा भएता पनि सीपलाई कैलाश कै अर्को वडामा आइपुगेर सेवा गरिएकोमा धन्यवाद व्यक्त गरे ।

ईच्छाशक्ति के को र कसको छ भन्ने पहिचान गरेर सहयोग प्रदान गर्दै आइरहेको सुन्दरढोका साथीसेवालाई पनि आभार व्यक्त गर्दै गाउँपालिकाले पनि कम्प्युटर, सिलाई, ह्याण्डीक्राफ्ट, विभिन्न परिकारको तालिम प्रदान गरिनुका साथै आगामी वर्ष पनि लक्षित वर्ग र क्षेत्रलाई तालिम कार्यक्रमको योजना रहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले यहाँहरु फरक क्षमताको हुनुहुन्छ, परिवार र समाजकै बोझ हुन अपाङ्गता भएका मान्छे भन्ने बुझाई छ तर त्यसलाई चिर्दै सीप सिकेर सेवा प्रदान गर्नसम्म पुग्नुभएकोमा हार्दिकता व्यक्त गरे ।

शारिरीक रुपमा कमजोर भएपनि सीप र काममा कमजोर छैनौं भनी आफ्नो सीप देखाउन अनुरोध गरे । विस्तारै व्यवसाय बढोस्, बजारीकरणमा वडा र गाउँपाकिलाले थप साथ सहयोग गर्नेछ, उपाध्यक्षले भने । सेवा सुरुले यसको प्रभाव यहाँ मात्र नभई पालिकाभर बढ्नेछ ।

कार्यक्रममा सुन्दरढोका साथीसेवाका कार्यकारी निर्देशक विजेता अधिकारीले अञ्जु र सरिताले काठमाडौंमा ६ महिनाको एडभान्स कोर्स पुरा गरेको बताईन् । फलतः शारीरिक अपाङ्गता छन् तर सीपमा कुनै समस्या नरहेको उनले बताईन् ।

राम्रो श्रृंगार गर्दैनन् की भन्ने सोच्नुभएको छ भने त्यो गलत हो, उनीहरु लामो समय पार्लर चलाएका भन्दा पनि राम्रो सेवा दिन सक्छन् भन्नेमा आफु ढुक्क रहेको बताईन् । ६ महिने तालिम पश्चात अहिले तत्काल २ लाख ५० हजार लगानीमा यो सुरुवात गरिदिएका छौं, अब ६ महिना हामी उनीहरुसँगै रहन्छौं, निर्देशक अधिकारीले भनिन् ।

हामीले गाउँपालिकामा अपाङ्गता भएका व्यक्तीहरुको आर्थिक पुनस्र्थापना कार्यक्रम गर्दै आइरहेका छौं, सुन्दरढोका साथीसेवा र जोनी एण्ड फ्रैण्डस, अमेरिकाको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो, अधिकारीले बताईन् ।

तीन वर्ष परियोजना अवधीमा हामीले बाख्रापालनमा सहयोग ४९ जना, साना किराना पसल सञ्चालन सहयोग ७ जना, कुखुरा पालन सहयोग ६ जना, कृषि हाते ट्याक्टर सहयोग २ जना, कुटानी पिसानी मिल १ जना, भैंसी पाडा पालन ३ जनालाई सहयोग गरिएको उनले बताईन् ।

बाँसको मुढा बनाउने तालिम ३ जना, व्युटी पार्लर २ जना, शैलुन तालिम १ जना, प्लाष्टिक टनेल १ जना, सिलाइ तालिम १ जना, सुधार गृह पुनस्र्थापना सहयोग २ जना, स्वास्थ्य उपचार ३७ जना गरी लाभान्वित अपाङ्गगता भएका व्यक्तीको संख्या ११७ जना रहेको निर्देशक अधिकारीले बताईन् ।

निर्देशक अधिकारीकै अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलान, ६ का अध्यक्ष रामबहादुर गोम्बा, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, सिडीपिएनका कार्यक्रम संयोजक हरिबहादुर भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

पार्लरमा पार्लर सम्बन्धी सम्पूर्ण कार्य गरिनुका साथै मेकअप, फेसियल, थ्रेडिङ, हेयर कट, हेयर स्ट्रेट, हेयर स्पा, वाक्सिङ गरिने सञ्चालक अञ्जु परियारले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button