समाचार

मनहरी महोत्सवमा हुने खुला दोहोरी प्रतियोगीतामा १६ टिम सहभागी हुने

Exif_JPEG_420

मनहरी । पाँचौ मनहरी महोत्सवमा माघ २१ गतेदेखि २५ गतेसम्म खुल्ला लोकदोहोरी गायन प्रतियोगिता हुने भएको छ ।

महोत्सवको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिसँग समन्वय गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाले खुल्ला लोकदोहोरी गायन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

माघ २१ गतेदेखि दिउँसो दैनिक रुपमा खुल्ला दाहोरी गायन प्रतियोगिता हुने जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष रविन्द्र थिङले एकजना पुरुष र एकजना महिला कलाकारको टिमले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

‘हामीले कम्तीमा १६ वटा टिमबीच दोहोरी गीत प्रतियोगिता गर्न लागेका छौँ, यो संख्या बढ्न पनि सक्छ’, अध्यक्ष थिङले भन्नुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगद, द्वित्तीय हुने टिमलाई १५ हजार, तृत्तीय हुने टिमलाई १० हजार र सान्त्वना हुने टिमलाई ५ हजार रुपियाँ नगद पुरस्कार व्यवस्था गरिएको बताउनुभयो ।

साथै उत्कृष्ठ एकजना गायक र गायिकालाई ५÷५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । स्थानीय स्तरमा दोहोरी गायक गायिकाहरु उत्पादन गर्ने र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यसहित पाँचौ मनहरी महोत्सवका अबसरमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थिङले बताउनुभयो ।

माघ १६ गते सुरुवात भएको पाँचौ मनहरी महोत्सव २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको मम, सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button