कैलाश । मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।
जेष्ठ २५ गते एक विशेष समारोहका बीच बागमती प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कैलाशलाई पूर्ण खोप पालिकाका रूपमा औपचारिक घोषणा गरेका हुन्।
सो अवसरमा कैलाश गाउँपालिका पूर्ण संस्थागत गर्भजाँच पालिका पनि घोषणा गरिएको छ। राष्ट्रिय पूर्णखोप निर्देशिका अनुसार १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि कैलाशले पूर्ण खोप पालिकाको मान्यता पाएको हो।
घोषणा कार्यक्रममा जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले गाउँपालिकालाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो। कार्यक्रम गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक लोकबहादुर मुक्तानको सभाध्यक्षता र प्रदेशसभा सदस्य बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सो अवसरमा खोप अभियानमा सक्रिय योगदान पुर्याउने ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, १० वटै वडाका स्वास्थ्य चौकी र ७ वटा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थाहरूलाई सम्मान गरिएको थियो। पत्रकार गणेश दुलाललाई नगदसहित सम्मान गरिएको थियो भने खोप कार्यमा विशेष योगदान दिएका उत्कृष्ट तीन स्वास्थ्यकर्मी र तीन उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
यसअघि वैशाखको अन्तिम सातामा कैलाशका सबै वडाहरूलाई पूर्णखोप वडा घोषणा गरिएको थियो। वडा घोषणा प्रमाणपत्र पनि कार्यक्रममा वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरूलाई प्रदान गरिएको थियो।
भौगोलिक रूपमा दुर्गम रहेको कैलाश गाउँपालिका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निरन्तर सुधार गर्दै अघि बढिरहेको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, विभिन्न वडाध्यक्षहरू, जिल्ला खोप फोकल पर्सन वासुदेव रिमाल, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी, विद्यालय प्राचार्य तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।