समाचार

कैलाशमा पहिलो पटक कालिका माविलाई एसईई परीक्षा केन्द्र तोकियो


कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकाका बिद्यार्थीहरुले अब आफ्नै पालिका भित्र एसईईको परीक्षा दिन पाउने भएको छ ।

कैलाश गाउँपालिकामा पहिलो पटक एईईको परीक्षा केन्द्र सञ्चालन हुने भए पछी आफ्नै पालिका भित्र एसईई परीक्षा दिन पाउने भएको हो ।

आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।

पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताए ।

भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा दिने विद्यार्थीका लागि विद्यालय परिसरमै खाना र आवासको व्यवस्था समेत गरेका छौं, अध्यक्ष मुक्तानले भने । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।

हामीले केन्द्र आवश्यक भनेर पहलकदमी चालेका थियौं, मंसिरमा ५ गते प्रधानाध्यापक बैठक बसेपश्चात मंसिर २६ गते गाउँ शिक्षा समितिको बैठक बसी गरेको निर्णय अनुरुप कालिका माविलाई केन्द्र तोक्ने गरी अघि बढेको अध्यक्ष मुक्तानले बताए ।

कालिका माविका बाहेक गाउँपालिका भित्र रहेका पाँच माध्यामिक विद्यालयका विद्यार्थीहरुले सोही स्थानमा परीक्षा दिने गाउँपालिकाका श्रोत शिक्षक ध्रवराज विष्टले बताए ।

कालिकाका नियमिततर्फ ४५ जना र ग्रेडवृद्धितर्फ १०  जना गरी ५५ जनाले हेटौंडामा परीक्षा दिने विष्टले बताए ।

कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् भने ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जनाले सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए ।

कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् ।

यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने अधिकारीले बताए ।

कालिका माविका विद्यार्थी भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिनेछन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार केन्द्र निर्धारण गरेको छ । यसवर्षबाट एउटा प्राविधिक विषयको केन्द्र र कैलाश गाउँपालिकामा एउटा केन्द्र थप भएसँगै मकवानपुरमा एसईईको केन्द्र २८ वटा पुगेको इकाई प्रमुख सुदीप गिरीले बताए ।

कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएसँगै अब मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको उनले बताए । कैलाशमा परीक्षा केन्द्र नरहेकाले  पालिकाबाट माग भई  आएको र स्थलगत निरिक्षणबाट उपयुक्त समेत देखिएकाले नयाँ परीक्षा केन्द्र थप गरिएको ईकाइ प्रमुख गिरीेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button