मनहरी । मनहरी खेलकुद तथा व्यापार महोत्सवको चौथो दिन आज आफ्नो सास्कृतिक प्रस्तुति दिन २ जना चर्चित लोक तथा दोहोरी कलाकार आउने भएका छन ।
लोक तथा दोहोरी गायक श्याम राना र गायिका भूमिका गिरी महोत्सवमा आफ्नो सङ्गितिक प्रस्तुति दिने आयोजकले जानकारी दिए ।
मनहरी खेलकुद विकास समितिले मनहरी गाउँपालिकाको आयोजनामा महोत्सव मनहरी – ८ मा सञ्चालन भैरहेको छ ।
महोत्सव उद्घाटनपछिका दिनहरुमा भन्दा दर्शकको संख्या समेत बृद्धि भएको आयोजक समितिका सदस्य कविन मगरले बताउनुभयो ।
शनिबार चर्चित कलाकारहरु आउने भएपछि महोत्सवको माहोल नै अर्कै हुने अपेक्षा राखिएको मगरले बताउनुभयो ।
त्यसैगरी यस क्षेत्रका चर्चित कलाकार एबम् नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, बीरु घलान र रुपक घिमिरेको प्रस्तुति रहने आयोजक मनहरी खेलकुद विकास समितिले जनाएको छ ।
नृत्यतर्फ आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ ।
फागुन २१ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो अबधिमा फुटवल (अध्यक्ष कप), क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टन र भलिवल प्रतियोगिताहरु समेत सञ्चालन हुनेछ खेलकुद विकास समितिका सदस्य विकास पाख्रीनले बताउनुभयो ।
जस अनुसार फुटवल मनहरी गाउँपालिका ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबारबाट सुरु हुने उहाँले बताउनुभयो । अध्यक्ष कपकै निरन्तरता स्वरुप सञ्चालन गरिने फुटवलमा १ नं वडाबाहेक अन्य सबै वडाहरुका ८ टिमले सहभागिता जनाउनेछन् ।
फुटवलको फाइनल खेल चैत २८ गते सम्पन्न हुनेछ भने बिजेताले १ लाख रुपियाँ र उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।