समाचार

अब्यवस्थित बस्तिको समस्या सुनुवाईका लागि उम्मेदवार द्वय बानियाँ र खतिवडा बगरबस्ती पुगे

मनहरी । मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बगर बस्तीमा पुगेर दुई जना उम्मेदवारले अब्यवस्थित बसोबासी, वन्यजन्तुको आक्रमण लगायतका बिषयमा जनताका समस्याको सुनुवाई गर्नु भएको छ ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र प्रदेश सभा क्षेत्र ख का उम्मेदवार समेत रहनु भएका पूर्व गृहराज्य मन्त्री इन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका बासिन्दाले भोग्दै आएको वन्यजन्तुको आक्रमणका बारेमा धारणा राख्नु भएको हो ।

निकुन्जसँग जोडिएको क्षेत्र भएकाले वन्यजन्तुले मानवीय र भौतिक क्षति पु¥याइरहने समस्या समाधानका लागि नीतिगत रुपमै पहल गरिने दुबै उम्मेदवारले बताउनुभयो । संसदमा क्षतिपूर्तिका लागि पटक पटक माग गर्दा गर्दा बल्ल राज्यले नीतिगत रुपमा क्षतिपूर्ति दिने व्यवस्था मिलाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार खतिवडाले बताउनुभयो । उहाँले आगामी दिनमा बन्ने गठबन्धनको सरकारले नै भूमिहीन समस्या समाधान गर्दै लालपुर्जा बितरण गर्ने र वन्यजन्तु नियन्त्रणका लागि थप कार्यक्रम र योजनाहरु ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार बानियाँले स्थानीय स्तरमा उठेका समस्याहरुको समाधानका लागि काँग्रेस नेतृत्वको स्थानीय सरकार रहेको र केन्द्रीय तहका समस्या समाधानका लागि प्रदेश सरकार र संघीय सरकारले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । आफू सामान्य उम्मेदवार मात्र नभएको र भावी मुख्यमन्त्री समेत रहेको दाबी गर्दै बानियाँले यसअघि बाम गठबन्धनको एमाले सरकार हुँदा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा गरेको बजेट बिनियोजन र अहिले गठबन्धनको प्रदेश सरकार बनेपछि भएको बजेट बिनियोजन तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।

गठबन्धनको सरकार बनेपछि यथेष्ट बजेट बिनियोजन गरिएको र डोरमणि पौडेल मुख्यमन्त्री हुँदा बजेट नहालिदिएको उहाँको भनाई थियो । एक अर्को प्रसंगमा प्रतिनिधि सभा सदस्य उम्मेदवार खतिवडाले २०५१ सालमा आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत सुरु भएको तटबन्धनमा निरन्तर बजेट बिनियोजन गरी ज्यामिरे तटबन्धनलाई निरन्तरता दिइएको र उक्त तटबन्धन अब मनहरी ८ सम्म बिस्तार गरिने बताउनुभयो । कार्यक्रममा गठबन्धन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button