समाचार

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम


थाहानगर । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ ।

मंसिर १५ देखि १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले बताउनुभयो ।

बिहीबार सम्पन्न पालुङ जेसीजको सातौं बोर्ड बैठकले बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो ।

कोषाध्यक्ष कार्कीका अनुसार मंसिर १५ गते तीन कार्यक्रम हुनेछन् । बिहान ७ बजे जेसीज हलमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अजित कार्कीको संयोजकत्वमा हुनेछ ।

बिहान १० बजे सेतीगणेश निमाबि थाहा ३ मा हरचिन्द्र कार्कीको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम हुनेछ । बिहान ११ बजे रचना बस्नेतको संयोजकत्वमा थाहा ४ किटेनीमा रहेको किराँतेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुनेछ ।

साथै मंसिर १६ गते बिहान ७ बजे सुबिन्द्रमान प्रधानको संयोजकत्वमा जेसीज मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन कभर्डहल थाहा ४ मा हुनेछ भने दिउँसो ४ बजे जेसीज सभाहल परिसरमा नारायण तामाङको संयोजकत्वमा जेसीज बगैचा निर्माण कार्यक्रम हुनेछ ।

सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर १७ गते बिहान ७ बजे जनकल्याण माबि थाहा ३ मा ‘जीवन परिवर्तन’ बिषयक सेमिनार बिराज थापाको संयोजकत्वमा हुनेछ भने दिउँसो १ बजे ‘डाडाघरे बा’ को होमस्टे थाहा २ मा समापन तथा पुरस्कार वितरण कार्यक्रम मान सिं दोङको संयोजकत्वमा हुनेछ ।

सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि पालुङ जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार संगम कार्कीले बताउनुभयो ।

पालुङ जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई बर्ष २०२३ का कानूनी सल्लाहकार निरज रायमाझीले अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button