
मनहरी । राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समिति गठन गरिएको छ ।
नारी सीप सिर्जना केन्द्र नेपालले मकवानपुरमा सुरक्षित स्थानगमन प्रबद्र्धन परियोजनाअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न वडास्तरिय समिति गठन गरिएको हो ।
गाउँपालिकाको वडा नं. १, २, ३, ५, ८ र ९ मा वडास्तरिय समिति निर्माण गरि परिचालन गरिएको नारी सीप सिर्जना केन्द्रका कार्यक्रम संयोजक ज्योती बम्जनले जानकारी दिनुभयो ।
प्रत्येक वडामा फरकफरक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वडाअध्यक्षको संयोजकत्वमा ११ सदस्यिय समिति निर्माण गरिएको हो ।
वडा नं. १ मा बाबीराम मुक्तान, वडा नं. २ मा बुद्धराम मुक्तान, वडा नं. ३ मा उत्तम वाइबा, वडा नंं ५ मा हरिबहादुर प्रजा, वडा नं. ८ मा युसाई प्रजा र ९ मा राम कुमार बाल्पाको संयोजकत्वमा समिति निर्माण गरिएको हो ।
समितिमा वडाका जनप्रतिनिधि, सुरक्षा निकायको प्रतिनिधि, टोल विकास संस्था, क्लब, प्रभावित महिला तथा जागरुक महिलालगायत समेटिएका छन ।
समितिले वडा भित्र मानव बेचबिखन तथा ओसारपसारका घटना हुन नदिन जनचेतना जगाउने र आवश्यक कारबाहीसमेत गर्ने कार्यक्रम संयोजक बम्जनले बताउनुभयो ।
पछिल्लो समय गाउँपालिकाभित्र यस्ता घटना घटेको बताउँदै वडाअध्यक्ष उत्तम वाइबाले कहिकतैँ घटना भएमा समितिकै अगुवाईमा कारबाही गरिने बताउनुभयो ।
मानव वेचबिखन, बालबिवाहजस्ता घटना समाजबाट उन्मुलन गर्नका लागि विभिन्न संघसंस्था तथा सरोकारवालाको भुमिका महत्वपुर्ण हुने उहाँले बताउभयो ।
नारी सीप सिर्जना केन्द्रका सदस्य सुन्तली माया चेपाङले मानव बेचविखनको सन्दर्भमा संस्थाले रोकथाम, उद्धार र पुनस्थापना जस्ता काम गरिरहेको बताउनुभयो ।
गरिबी, अशिक्षा र बेरोजगारका कारण यस्ता घटना बढि हुने जोखिम भएकाले राक्सिराङमा कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
राक्सिराङ गाउँपालिकाले पनि गाउँपालिकास्तरिय समिति तयार गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि काम गर्ने प्रवक्ता हरिबहादुर प्रजाले बताउनुभयो । त्यसका लागि छुट्टै कार्यविधि समेत तयार पारिएको छ ।






