समाचार

राक्सिराङका जनप्रतिनिधि र कर्मचारीलाई नारी सीप सृजना केन्द्रद्वारा सीप विकास कार्यशाला प्रदान

मनहरी । राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि तीन दिने सीप विकास कार्यशाला सम्पन्न भएको छ ।

मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत नारी सीप सृजना केन्द्र हेटौँडको आयोजना र एडब्लुओ इन्टरनेशनल तथा जीआइजेडको सहकार्यमा कार्यशाला भएको हो ।

भाद्र ७ देखि ९ गतेसम्म साैराहामा आयोजित कार्यशालामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायत कर्मचारीहरु सहभागी थिए ।

कार्यशालामा स्थानीय तह संस्थागत स्वमुल्यांकन प्रणाली, बालबालिका, महिला तथा अल्पसंख्यक समुदायको सवाल, बसाँइसराई, शिक्षा, स्वास्थ्य लगायतको अवस्थाबारे बिश्लेषण तथा छलफल गरिएको थियो ।

विभिन्न ऐन तथा कार्यविधिबारे छलफल गर्दै बजेट निर्माणमा सहजताका लागि बिशेष अनुदान, समपुरक बजेट, सहलगानी, भगिनी सम्बन्धबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रममा बिषयबिज्ञका रुपमा नुरजंग शाहले सहजीकरण गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष मल्लले धेरै बिषयमा प्रस्ट हुने मौका पाएको बताउनुभयो । थुप्रै बिषयमा जानकारी नहुनाले समस्या पर्ने गरेको बताउँदै उहाँले विभिन्न ऐन तथा कार्यविधि निर्माण, बजेट निर्माणलगायतमा अब सहज हुने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले उत्कृष्ट कार्य गरिरहेपनि सहि तरिकाले तथ्यांक लगायत कागजातहरु ब्यवस्थित नहुदाँ कार्यसम्पादन नै कमजोर देखिने गरेको बताउँदै अब सुधार गरिने प्रतिबद्धता जनाउनुभयो ।

नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वति बर्तौलाले समाज परिवर्तनका लागि निररन्तर सहकार्य हुनुपर्ने जोड दिनुभयो । उहाँले राक्सिराङमा लामो समयदेखि विभिन्न परियोजना सञ्चालन गर्दै आएकोमा स्थानीय सरकारको सहभागीता र अपनत्व पर्याप्त हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष रेनु गुरुङ, फिल्ड संयोजक गीता अर्याल, पत्रकार ज्ञानेन्द्र तामाङलगायतको पनि सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button