
हेटौडा। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलोभन्दा पनि महिला सशक्तीकरणसँग जोडेर सन्देशमूलक बनाउनुपर्ने बताइन् ।
मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताइन् । उनले यस्ता सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिलाहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको राम्रो विषय रहेको बताएका छन् । तर, पछिल्लो समय तीजलाई मौलिकभन्दा पनि अरुको देखासिखी गरेर मनाउने चलनले तीजको महत्व कम भैरहेको उनले बताए ।
गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकले तीजको अवसरमा गरिने दर कार्यक्रमलाई सकरात्मक रुपमा लिनुपर्ने बताइन् । अहिलेका महिलाहरु शिक्षित र कुनै न कुनै क्षेत्रमा क्रियाशील रहने तथा आर्थिक रुपले सक्षम भैरहेकाले पनि तीजका अवसरमा खाइने दरलाई सकरात्मक रुपमै लिनुपर्ने बताएकी छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सचिव शुभलक्ष्मी विक, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य भावना रिजाल, फोनिज मकवानपुर उपाध्यक्ष नवराज वाईवा, मेची–महाकाली बुहारी समाजका सह संयोजक मन्जु फुयाँल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा चिनारी सन्देशको अनलाईन संस्करण चिनारी सन्देश डटकमको पनि शुभारम्भ गरिएको थियो ।






