समाचार

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन


काठमाडौं । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।  आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।  हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।

औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।  कुशे ‍‍औंसीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण ‍‍औंसीको नाम पनि दिइएको छ। कुशे ‍‍औंसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।

आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।  पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button