
काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। पाँच देश सम्मिलित यो प्रतियोगिताको समूह चरणको अन्तिम दिन नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।
नेपाल र बंगलादेशबीच दिउँस सवा चार बजे कालिङ्गा रंगशालामा प्रतिस्पर्धा हुनेछ। आयोजक भारत र माल्दिभ्स साँझ सवा सात बजे भिड्नेछन्।समूह चरणका शीर्ष दुई टिम फाइनल पुग्ने प्रावधानअनुसार ९ अंक जोडेर शीर्ष स्थानमा रहेको बंगलादेश, ६ अंक जोडेको दोस्रो स्थानको भारत र ६ अंक नै जोडेको तेस्रो स्थानको नेपाल फाइनल पुग्ने होडमा छन्।
श्रीलंका र माल्दिभ्स भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतविरुद्धको तेस्रो खेलमा भने नमिठो हार बेहोरेको छ। तेस्रो खेलमा घरेलु टिम भारतसँग ८(० गोलले पराजित हुँदा नेपालको फाइनल यात्रा पनि कठिन बनेको थियो।
नेपाललाई फाइनल पुग्न आजको खेलमा जित आवश्यक छ। हारले नेपालको फाइनल यात्रा समाप्त हुनेछ। बराबरी खेलेको अवस्थामा नेपालको फाइनल पुग्ने सम्भावना हुनेछ। त्यसका लागि भारतको खेलमा भर पर्नु पर्नेछ।
प्रतियोगितामा प्राप्त अंकपछि हेड टु हेडलाई मान्यता दिने नियम छ। आजको खेलमा नेपाल र भारत विजयी भएमा तीन टिमको अंक बराबरी हुनेछ। जसमा नेपाल भारतसँग हेड टु हेडमा पछि छ।






