मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–२ मा तेस्रो वडा अध्यक्ष भीमानसिंह स्मृति कप २०८३ खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मनहरी गाउँपालिका वडा नम्बर २ र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा प्रतियोगिता हुन लागेको हो।
१० वर्षे महान् जनयुद्धका क्रममा भीमानमा सहादत प्राप्त गर्नुभएका महान् सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद समिती मनहरी -२ का संयोजक चन्द्र सिङ स्याङतानले बताए ।
यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै मनहरी गाउँपालिकाभित्र मात्र सीमित नराखी देशका विभिन्न स्थानमा रहेका आधिकारिक रूपमा दर्ता भएका उत्कृष्ट क्लबहरूलाई समेत सहभागी गराइने आयोजकले जनाएको छ।
प्रतियोगिताले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गराउनुका साथै युवापुस्तामा खेलकुदप्रतिको रुचि, अनुशासन, आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान र सामाजिक एकता कायम गर्न पनि प्रतियोगिताले सहयोग पुर्याउने विश्वास आयोजकको छ।
प्रतियोगिता कार्तिक १४ देखि २२ गतेसम्म
आयोजकका अनुसार प्रतियोगिता २०८३ कार्तिक १४ गते उद्घाटन भई २२ गते समापन हुनेछ। खेलहरू मनहरी–२, दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट जनहीलाई ३ हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
टिम दर्ता शुल्क ३ हजार रुपैयाँ
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २०८३ कात्तिक १० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।
थप जानकारीका लागि प्रतियोगिता संयोजक चन्द्रसिंह स्याङतान, आर्थिक संयोजक इन्द्रदेव वाइबा र मिडिया संयोजक सूर्यबहादुर गोलेलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।







