
मनहरी । भारतको हैदरावादमा सम्पन्न सातौं दक्षिण एसियाली (आइटिएफ) तेक्वान्दो प्रतियोगितामा पदक जित्ने राक्सिराङका खेलाडीहरुलाई सम्मान गरिएको छ ।
प्रतियोगितामा १ स्वर्ण सहित १ रजत र ५ कास्यपदक जित्न सफल राक्सिराङ ३ का कृति योन्जन, अग्रता ठकुरी र युनिसा प्रजालाई सम्मान गरिएको हो। कृतिले १ स्वर्ण, १ रजत र १ कास्य, अग्रताले ३ कास्य र युनिसाले १ कास्यपदक जितेका हुन्।
बिजेता खेलाडी, उनीहरुका अभिभावक र प्रशिक्षकसमेतलाई राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वडा अध्यक्ष उत्तम वाइबा, बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीलगायतले सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष मल्लले खेल र खेलाडी उत्पादन र प्रबर्द्धन का लागि गाउँपालिका सधैं लागिपरेको बताउनुभयो। पालिकामा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादन गर्न लगानी गर्न गाउँपालिका तयार रहेको उहाँको भनाई छ ।
वडा अध्यक्ष वाइबाले भारतमा आयोजित प्रतियोगितामा राक्सिराङ बाट सहभागी भएर पदक जित्नु ठुलो उपलब्धि भएको बताउनुभयो। तेक्वान्दो खेललाई थप व्यवस्थित बनाउन र खेलाडीलाई उत्साहित बनाउन योजना बनाएर काम गरिने उहाँले बताउनुभयो।
आइटिएफ तेक्वान्दो डोजाङका जिल्ला अध्यक्ष राजेश बोलखेको समग्र नेपालकै नाम राख्न सफल भएको बताउनुभयो। भारतमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी ३ खेलाडी सबैले पदक प्राप्त गर्नु गर्वको कुरा भएको उहाँले बताउनुभयो।
राक्सिराङ आइटिएफ तेक्वान्दो डोजाङको व्यवस्थापनमा खेलाडीहरु प्रतियोगिता खेल्न भारत गएका हुन्। प्रतियोगितामा थुप्रै खेलाडी सहभागी गराउन सकिने भए पनि आर्थिक अभावका कारण ३ जना मात्र पठाइएको प्रशिक्षक प्रकाश शाहीले बताउनुभयो। खेलाडीलाई प्रतियोगिता खेल्न जाने क्रममा चरम आर्थिक समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सन्चारकर्मी लगायतको उपस्थिति थियो। डोजाङका सन्तोष थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम डोजाङका उपाध्यक्ष कृष्ण योन्जनले सन्चालन गर्नुभएको थियो।






