
मनहरी । मनहरी गाउँपालिकाको १४ औँ अधिबेशन सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा ब्यवस्था गरिएबमोजिम गाउँपालिकाको हिउँदे अधिबेशन गाउँपालिकाको सभाहल लामिटारमा आयोजना गरिएको हो ।
अधिबेशनमा विभिन्न बिधेयक तथा प्रस्तावहरुमाथि छलफल गरिएको थियो । छलफलमा गाउँसभाका सदस्यहरुले सक्रिय सहभागिता जनाए ।
गाउँसभाको शुन्य समयमा सदस्यहरुले उठाएको जिज्ञासा, प्रश्न तथा सुझावहरुमाथि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जवाफ दिए ।
शुन्य समयमा बोल्ने सदस्यहरुले मनहरी ८ मा बजेट प्राप्त भएर डिपिआरसमेत भइसकेको बसपार्क बन्न नसक्नु बिडम्बना भएको बताए । सो स्थानमा बसपार्क निर्माण गरिए समग्र मनहरीकै शान बढ्ने बताउँदै तत्काल पहल गरिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै जंगली हातीले दिनानुदिन समस्या बढाइरहेको भन्दै ब्यवस्थापनका लागि पहल गर्नपर्ने आवाजसमेत उठ्यो । पर्सा राष्ट्रिय निकृञ्जको घरपालुवा हाती प्रतापुर पोष्टबाट सारिनुपर्ने सदस्यहरुले माग गरे ।
गाउँसभा सदस्यहरुले अन्य विकास निर्माणमा भएका ढिलासुस्ती, बजेट विनियोजनमा भएका असमानता, थप बजेटको माग लगायतका बिषयहरु राखेका थिए ।
गाउँसभा सदस्यहरुले उठाएको बिषयमा गाउँपालिका अध्यक्ष कालाखेतीले सम्बोधन गर्दै सबै खाले सुझावहरुलाई मनन गरि अघि बढ्ने बताउनुभयो ।
सभामा विभिन्न बिषयगत समितिका संयोजकहरुले विभिन्न प्रस्ताव तथा प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष सिता पुलामीले न्यायिक समितिको प्रतिवेदन र बजेट संशोधन प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रस्तुत गरिएका सबै बिधेयक प्रस्ताव तथा प्रतिवेदन सर्वसम्मत पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदिले जानकारी दिनुभयो।






