समाचार

हेटौंडामा १०औं राष्ट्रिय औद्योगिक व्यापार मेला हुने


हेटौंडा । हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । बुधबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आउँदो माघ ११ गतेबाट २३ गतेसम्म ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ बारे गर्न लागेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले हेटौंडा–१० टिसिएन चौरमा औद्योगिक व्यापार महोत्सव गर्न लागिएको बताए । उनले जिल्लाको उद्योग व्यापार क्षेत्रको विकास गरी समग्र देशकै आर्थिक टेवा पुर्याउने उदेश्यले संघले गर्दै आएको महोत्सव कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले महोत्सवले जिल्लाको कृषि, सूचना, प्रविधि, पर्यटन, व्यापार विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । अध्यक्ष अग्रवालले महोत्सवमा स्थानीय उत्पादन र व्यवसायीलाई प्राथमिकता दिइने तयारी रहेको समेत बताए ।

उनले विभिन्न क्षेत्रका कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पाद तथा सेवाहरुका गरी ३ सय स्टलहरु रहने १३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने बताए । उनले महोत्सव अवधिभर मेलामा छलफल र अन्तरक्रिया तथा प्रतियोगितामूलक कार्यक्रमहरुको तयारी गरिएको बताए । उनले महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिए ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल तथा डान्सिङ स्टार प्रतियोगिता रहनुको साथै हेलिकप्टर टुर, खाना महोत्सवको व्यवस्था तथा राष्ट्रिय उद्योगहरुको उत्पादनहरु प्रर्दशनीहरु रहने अध्यक्ष गुप्ताले बताए ।

मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको समेत आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको थियो । त्यसैगरि संघले ०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button