
हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकार हुँदा विकट गाउँमा बजेट विनियोजनमा उपेक्षा गरिएकोमा लोकतान्त्रिक गठबन्धनको नेतृत्वको सरकार आएपछि पूर्वाधार विकासमा छोटो समयमै प्रसस्तै बजेट हालिएको बताएका छन् ।
बिहीबार कैलाश गाउँपालिका स्थित नामटारमा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले कैलाश गाउँपालिकामा मात्र प्रदेश सरकारबाट विभिन्न क्षेत्रमा यस वर्ष १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
‘४ वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा बजेट विनियोजनमा कैलाश गाउँपालिकालाई एमालेले उपेक्षा गरेको थियो । गठबन्धनको सरकार आउनासाथ १० महिनामा १८ करोड बजेट पूर्वाधार विकासमा हालेका छौं ।’ बानियाँले भने–‘यसको मूल्यांकन जनताले चुनावमा गर्ने नै छन् ।’ आगामी चुनावबाट पनि गठबन्धनकै सरकार बन्ने पक्का रहेको भन्दै उनले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताए । भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनकै नेतृत्व आवश्यक भएको बताए ।
केपी ओली नेतृत्वको सरकारले २÷२ पटक प्रतिनिधिसभा विघटन गरी समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संविधान जस्ता महत्वपूर्ण उपलब्धी मास्न खोजेको भन्दै संविधानविरोधी तत्वलाई यो निर्वाचनबाट जरैदेखि उखेल्नुपर्ने उनले बताए । बानियाँले भने, ‘गणतन्त्र ल्याउने बेलामा लाखौँ जनता सडकमा हुँदा ओली कुनै आन्दोलनमा थिएनन्, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एकै हो भन्दै बसेका ओली सत्तामा रहँदा भ्रष्टाचार र विभिन्न घोटालामा संलग्न रहे ।’
कैलाश–९ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिका संयोजक भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य जनक बर्तौला, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सभापति लोकबहादुर मुक्तान, महासमिती समस्य उमा दाहाल, एकीकृत समाजवादी जिल्ला सदस्य अरुण बर्तौलालगायत नेताहरुको उपस्थिति रहेको थियो ।






