
एशिया कप क्रिकेटमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । गएराति दुवईमा भएको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि ५ विकेटको जीत दर्ता गरेको हो । पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
भारतलाई जिताउनका लागि रविन्द्र जडेजा र विराट कोहलीले ३५–३५ रन बनाउँदा हार्दिक पाण्ड्याले ३३ रनको नटआउट पारि खेले । पाण्ड्याले १७ बलमा आक्रामक ३३ रन बनाउँदा भारतको जीत सम्भव भएको हो । पाकिस्तानका मोहम्मद नवाजले ३ तथा नसिम साहले २ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर १४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाउँदा इफ्तिकर अहेमदले २८ तथा हेरिस रौफ १३ रनमा नटआउट रहे । भारतका भुवनेश्वर कुमारले ४ तथा हार्दिक पाण्ड्याले ३ विकेट लिए भने अर्सदीप सिंहको नाममा २ विकेट रह्यो ।






