
काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केही महिनाभित्रै नेपाली क्रिकेटमा सकरात्मक परिवर्तन देखिने बताएका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक प्रभाकरले नेपाली टिममा देखिएको टेक्निकल कमजोरीलाई सुधार गर्दै सकारात्मक परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे। उनले राम्रो ब्याट्सम्यान बन्नका लागि पावरमात्रै सबै कुरा नभएको र टेक्निकल सुधार महत्वपूर्ण भएको धारणा राखे।
विश्वका सफल खेलाडीहरू पावरमाभन्दा पनि टेक्निकल खेल खेलिरहेका उनले बताए। उनले नेपाली खेलाडीसँगको बसाईमा पावरका साथै टेक्निकल कमजोरी सुधार गर्ने क्षमता देखिएको जिकिर गरे। प्रभाकरले आगामी खेलहरूमा शतप्रतिशत नतिजा निकाल्ने गरी तयारी गर्ने बताएका छन्।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले उनलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ।






