
काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिपमा नेपाल टिमबाट कतिपय खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गर्नेछन् । यो सूचीमा नेपालबाट खेलाडीमात्र होइन रेफ्रीको पनि डेब्यू हुनेवाला छ । फिफा मान्यता पाएपछि सिनियरतर्फको अञ्जना राईले पहिलो खेल खेलाउँदैछिन् । उनको फिफा रेफ्रीका रुपमा मात्र होइन, दशरथ रंगशालामै पहिलो अनुभव हुनेछ ।
उदयपुरकी २८ वर्षीया अञ्जनाले स्कुलबाट नै फुटबल सिकेकी हुन् । तर, खेलाडीका रुपमा उनको खास उपलब्धि छैन । उनले विद्यालय, जिल्ला र क्षेत्रीयस्तरसम्म खेलेकी थिइन् । सानै उमेरमा निर्णायक बन्ने सपनाले उनलाई फिफा रेफ्रीसम्मको यात्रामा सहयोग भने गरेको छ । २०६९ सालमा आर्मीमा भर्ती भएपछि २०७० देखि त्रिभुवन आर्मी क्लबमा पुगेसँगै उनको सपनाले सार्थकता पाएको हो । उनी खेलाडीका रुपमा आर्मीमा पुगेकी थिइन्, तर उदयपुरको त्रियुगामै रहँदा रेफ्रीको आधारभूत तालिम लिएकी उनलाई आर्मीमा रेफ्री बन्न सजिलो भयो ।
‘एन्फाबाट रेफ्री उत्पादनका एफसीको फेस्टिभल हुन्थ्यो । एउटा अथवा दुईवटा खेल खेलाएपछि राष्ट्रिय रेफ्रीको दर्जा पाइन्थ्यो,’ रेफ्री अञ्जनाले भनिन्, ‘आर्मीको एक वर्षको तालिमपछि मैले रेफ्रीको प्रशिक्षण प्राप्त गरिसकेकोले प्रधानसेनापति कपहरु खेलाउन थालेँ ।’
२०७१ यता प्रायः घरेलु प्रतियोगितामा उनी राष्ट्रिय रेफ्रीका रुपमा खेल खेलाउँदै आएकी छिन् । सन् २०१६ मा ताजिकिस्तानमा आयोजित एएफसी यू–१४ फेस्टिबलमा उनले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेलाउन पाएकी हुन् ।






