खेलकुद

नारायणी रंगशालामा जग्गा परेका जग्गाधनी मुआब्जा लिन सहमत

वीरगञ्ज । पर्साको नारायणी रंगशालामा जग्गा रहेका जग्गाधनीले मुआब्जा दिन माग गरेका छन् । रंगशालामा व्यक्तिको जग्गा परेको र रंगशाला अतिक्रमण भएको बारेमा अध्ययन गर्न गठित उपसमितिसँग उनीहरुले मुआब्जा लिएर जग्गा दिन तयार रहेको बताएका हुन् ।

उपसमितिले राष्ट्रिय खेलकुद परिषद राखेपमा बुझाएको प्रतिवेदनमा जग्गाको मुआब्जा प्रदान गर्ने प्रक्रिया अघि बढाउन आवश्यक बजेट व्यवस्था युवा तथा खेलकुद मन्त्रालयले गर्नुपर्ने सुझाव दिएको संयोजक मानदेव हजाराले बताए ।

‘१० जना जग्गाधनीको १४ कठ्ठा जमिन रंगशाला भित्र परेको छ । जग्गा सट्टाभर्नाको कुरा थियो । अब त्यो संभव छैन । जग्गाधनीहरु पनि जग्गा उपभोग गर्न नपाउँदा मर्कामा छन्, जग्गासम्म जाने बाटो पनि छैन’, उनले भने, ‘उनीहरु मुआब्जा लिएर जग्गा रंगशालालाई दिन तयार छन् । सोही ब्यहोराको प्रतिवेदन तयार गरेर परिषदलाई बुझाएको छु ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका हजारा र मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयका प्रमुख महम्मद ज्याउल इस्लाम सदस्य रहेको उपसमितिले साउन १२ गते जग्गा धनीहरुसँग भेटघाट र छलफल गरेको थियो । छलफलमा उनीहरुले उचित मुआब्जाका लागि बारम्बार परिषदमा लिखित निवेदन पेश गरेको र अदालतहरुमा आफ्नो जग्गा प्राप्तिका लागि निवेदन पेश गरी अदालतबाट समेत फैसला अन्तिम भइ बसेकोमा समेत जग्गा नपाउँदा मर्कामा परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button