
मनहरी । मनहरीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान माघ २२ गते देखी २५ गते सम्म सञ्चालन हुने भएको छ ।
मंगलबार गाउँपालिकाको सभाहल लामिटारमा भएको जनप्रतिनिधि तथा सन्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रम गरि सो जानकारी दिएको हो ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन हुन लागेको राष्ट्रिय अभियान मनहरीमा ४ दिन सम्मा सञ्चालन हुने छ । अभियानबाट १० वर्ष देखि १४ वर्ष उमेर समुहका २ हजार २ सय जना बालिकाहरुलाई २० वटा बिद्यालय र १० वटा स्वास्थ्य केन्द्र गरि ३० वटा केन्द्रमा खोप लगाउन लागिएको मनहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
‘पाठेघरको मुखको क्यान्सरकै कारण नेपालमा वार्षिक सरदर एकहजार ३ सय जनाले ज्यान गुमाउन गरेका छन् । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दो रहेकोले कोही नछुट्ने गरी अभियानलाई सफल बनाउनुपर्ने धारणा राखे ।
आगामी वर्षबाट आवश्यकता अनुसार पालिकाले नै बजेट व्यवस्था गरेर अभियान सन्चालन गरिने उनको भनाई थियो । पालिकाका उपाध्यक्ष सीता पुलामी मगरले यो खोप अभियान अलि अगाडी आइदिएको भए अझ राम्रो हुने धारणा राखिन् । मनहरीमा यो एचपीभी खोप अभियानलाई सफल बनाउन सबैको सहयोग जरुरत् रहेको उनले बताइन् ।







