समाचार

भिमफेदी कारागारलाई मनहरी गाउँपालिकाको “राइस स्टिमर” उपहार

मनहरी गाउँपालिकाले भिमफेदी कारागारलाई “राइस स्टिमर” उपहार दिएको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त “राइस स्टिमर” हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले रु ३ लाख बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।

गत असोज ५ गते गाउँपालिकाको कार्यपालिका बैठकले उक्त कारागारमा रहेका कैदी-बन्दिहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

मनहरी गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी-बन्दिहरु लागू औषध ओसारपसारका कारण कारागार चलान भएका छन् ।

गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्व स्थानिय सरकारको पनि भएकाले सहयोग गरिएको अध्यक्ष रन्जन कालाखेतीले बताए ।

हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिनुभयो । उनले भने – “हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुलि खपतमा पनि सहयोग पुग्नेछ” ।

यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको छ । २ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने छ ।

हाल कारागारमा १ हजार ६९ जना कैदी-बन्दिहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानिय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button