
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइदै छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजको दिनमा दर खाने चलन छ ।
दर खाने दिनबाट तीज पर्व सुरु हुन्छ । धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत बस्दा महादेव स्वामी पाएको विश्वास छ । आजको दिन आफ्ना छोरीचेलीलाई माइतीमा बोलाई मिठोमिठो परिकार खान दिने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
भोलिपल्ट दिनभर निराहार व्रत बस्न दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन छ । पछिल्लो समय महिना दिन अघिबाटै तीजको जमघट गर्ने प्रबृत्ति बढ्दै गपनि यो पटक भने कोरोना संक्रमणको जोखिमका कारण त्यस्तो चहलपहल छैन ।
कोरोना महामारीका कारण सरकारले यो वर्ष बाहिर हिडडुल गर्न, सामुहिक रुपमा भेला भएर नाचगान गर्न र दर खान रोक लगाएको छ । काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निधेषाज्ञा लागु गरिएका कारण पनि यो वर्ष तिजको रमझम र चहलपहल देखिएको छैन । कोरोनाको जोखिमलाई ध्यानमा राखेर आफ्नै घरमा परिवारका सदस्यहरुसँग बसेर दर खान र रमाइलो गर्न सरकारले आग्रह गरेको छ ।






