मकवानपुर । वि.सं. २०६८ सालको जनगणनाअनुसार बागमती प्रदेशमा कूल जनसंख्यामध्ये २०.४२ प्रतिशत तामाङ समुदायका मानिसहरु रहेका छन् । विशेषगरी काठमाडौंसहित मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा तामाङ समुदायको आबादी रहेको छ ।
केन्द्रिय विभागको तथ्याङ्क अनुसार प्रदेशको राजधानी मकवानपुरमा १८ हजार ४ सय २३ (६०.२३ प्रतिशत), चितवनमा १७ हजार ८ सय ६२ (६.२६ प्रतिशत), धादिङमा ७४ हजार २ सय ३९, सिन्धुपाल्चोकमा ९८ हजार ५ सय ७० (३४.२५ प्रतिशत), नुवाकोटमा १० हजार ५ सय ८५, सिन्धुलीमा ७९ हजार ५ सय ९० (२९.०५ प्रतिशत), रामेछापमा १९.२ प्रतिशत, दोलखामा १८.८ प्रतिशत, रसुवामा ६८.७८ प्रतिशत, काभ्रेमा १ लाख २९ हजार ९ सय १३ (३४.०१) प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ । संघीय राजधानी काठमाडौंमा ११, भक्तपुरमा १४.२ र ललितपुरमा १३.१ प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ । बागमती प्रदेशमा १८ प्रतिशत तामाङले मातृभाषा बोल्ने गरेका छन् ।
तामाङ समुदायले आज अर्थात् भदौ ६ गतेका दिनलाई तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्श गर्ने, सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने, विभिन्न र्याली तथा प्रभातफेरीलगायतका कार्यक्रमहरु गरी उत्साहपूर्वक मनाउने प्रचलन रहेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेको जानकारहरु बताउँछन् । सोही मागलाई सम्बोधन गर्दै भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवसका रुपमा मानिएको हो । त्यसअघि तामाङहरुलाई भोटे, लामा, मुर्मि आदि भन्ने गरिन्थ्यो ।
तामाङहरुले निकै महत्वका साथ विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको यो दिवसका दिन बागमती प्रदेशको राजधानी हेटौंडामा सामुदायिक हितका लागि कुनैपनि गतिविधि नभएको भन्दै समुदायकै मानिसहरुले चिन्ता व्यक्त गरेका छन् ।
तामाङ समूदायको भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि नेपाल तामाङ घेदुङ स्थापना गरिएको भएपनि घेदुङले दिवसका अवसरमा कुनैपनि गतिविधि नगरेको भन्दै घेदुङ मकवानपुरका पूर्व सदस्य देवेन्द्र लामाले चिन्ता व्यक्त गरे । उनले भने ‘तामाङ समुदायको नेतृत्वको लागि मरिहत्ते गर्ने बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान र मकवानपुरका कालु घलानले अहिले समुदायको हितका लागि कुनै पनि गतिविधि गरेको देखिँदैन । चुनावका बेला नानाथरी आश्वासन बाँड्ने अनि नेतृत्वमा पुगेपछि निँदाउने । समुदायको पहिचान स्थापनाको लागि लड्नुपर्ने घेदुङकै कारण अहिले समुदायकै पहिचान नै संकटमा पर्ला जस्तो भइसक्यो । ’
उनले प्रदेश समितिले आफुपनि काम नगर्ने र जिल्ला वा नगर समितिलाई पनि हस्तक्षेप गर्ने गरेको आरोप लगाए । प्रदेश अध्यक्ष घलानले घेदुङलाई समुदायको हितका लागि भन्दा पनि राजनीति गर्ने थलो बनाएको उनको भनाई छ ।
त्यस्तै घेदुङका पूर्व केन्द्रीय सदस्य सुनिल मोक्तानले वर्तमान नेतृत्वकै कारण समुदायको हितका लागि स्थापना गरिएको घेदुङ प्रदेश र मकवानपुर समिति निष्क्रिय हुँदै गएको बताए । उनले नेतृत्वकर्ताहरुकै निष्क्रियताका कारण घेदुङ नै संकटमा पर्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै घेदुङ मकवानपुरका पूर्व अध्यक्ष मेम्मर लो घेदुङको गतिविधि शुन्य भएको बताउँछन् । उनले भने ‘हामी घेदुङमा हुँदा समुदायको हित र पहिचान स्थापित गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्थ्र्यौँ । समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहन्थ्यौँ । उहाँहरुको समस्यासँग पनि सँगसँगै हुन्थ्यौँ । अहिले नेतृत्वमा पुगेकाहरुले बाहिर आउने गरी खासै गतिविधि गरेको पाइँदैन ।’
यीनै विषयमा हामीले घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलानसँग जिज्ञासा राख्दा उनले दिवससँग जोडिएका कुनैपनि गतिविधि प्रदेशभर नभएको बताए । ‘केन्द्रले कार्यक्रम आयोजना गरेकै छ, हामीले किन गर्नुपर्यो र ?’ उनले भने । त्यस्तै मकवानपुरका अध्यक्ष कालु घलानले विगतका वर्षहरुमा कोरोनाका कारण भीडभाड गरेर कार्यक्रमहरु गर्न अनुकुल नभएको बताए । आगामी दिनहरुमा आफुहरुको गतिविधिलाई बढाउने उनले प्रतिवद्धता जनाए । समितिकै पदाधिकारीहरुको असहयोग भएका कारण कार्यक्रमहरु गर्न जाँगर नचल्ने गरेको उले बताए ।
यो समाचार तुखबर डटकममा पत्रकार सन्देश थिङले लिख्नु भएको हो ।